काठमाडौं । लामो समयको निषेधाज्ञाका कारण देशैभरको पठनपाठन प्रभावित भएको छ । लगभग सबैजसो क्षेत्रका काम फाट्टफुट्ट चल्न थालिसके । तर शिक्षण संस्था खुल्ने अत्तोपत्तो छैन ।
गत वर्षको लकडाउनदेखि नै शैक्षिक संस्थाहरुले गम्भीर क्षतिको सामना गर्नुपरेको छ । यसले विद्यार्थीहरूको पढाइमा असर त गर्ने नै भयो ।
पाठ्यक्रम अनुसारको पढाइलाई निरन्तरता दिन विभिन्न शैक्षिक संस्थाहरूले अनेकन् उपाय अपनाइरहेका छन् । कतै अनलाइन कक्षाको अभ्यास भइरहेको छ भने कतै अफलाइन एपको प्रयोगबाट पढाइलाई निरन्तरता दिइएको छ ।
देशका सबै स्थानमा इन्टरनेट र स्मार्ट डिभाइसहरूको उपलब्धता सहज भइसकेको छैन । यस्तोमा इन्टरनेटको पहुँच तथा स्मार्टफोनको व्यवस्था गर्न नसक्ने समुदायका विद्यार्थीहरूका लागि कस्तो प्रकारको व्यवस्था गर्ने भन्ने विषय अझै पनि चुनौतीको रुपमा नै रहेको छ ।
यद्यपि यो चुनौतीलाई प्युठानको माण्डवी गाउँपालिकास्थित नयाँ गाउँको माण्डवी माध्यमिक विद्यालयले भने आफ्नै पाराले जवाफ दिएको छ ।
इन्टरनेट र स्मार्टफोनको पहुँचभन्दा बाहिर भएको नयाँ गाउँमा अनलाइन कक्षा सम्भव नदेखिएपछि माण्डवी माविले फोन कलबाट नै कक्षा सञ्चालन गरिरहेको छ ।
विद्यालयका प्रधानाध्यापक मेघराज पौडेलका अनुसार सरकारको निर्देशन अनुसार अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न कठिनाइ भएपछि कक्षा सञ्चालनका लागि विद्यालयले फोन कललाई नै वैकल्पिक माध्यमको रुपमा लिएको हो ।
सुरुवाती अवस्थामा चुनौतीपूर्ण नै लागेको भएतापनि राम्रो प्रभाव पर्ला भन्ने अपेक्षासहित जसोतसो शैक्षिक सामग्रीहरु र शिक्षकहरुलाई तयार गरी कक्षा त सुरु गरियो । तर आशा गरेजस्तो प्रभावकारी भने हुने सकेन,’ प्रधानाध्यापक पौडेलले भने, ‘इन्टरनेटको उचित व्यवस्थाका लागि हामीले प्रस्ताव गरेपनि सम्बन्धित निकायबाट केही पहल नभएपछि फोन कलबाट कक्षा सञ्चालन गर्न बाध्य भयौं ।’
अनलाइनभन्दा यो फोन कक्षा नै विद्यार्थीका लागि सहज भएपछि यसैलाई निरन्तरता दिइएको उनले बताए ।
अनलाइन कक्षा विद्यार्थी र अभिभावकको लागि पनि खर्चिलो देखियो । साथै इन्टरनेट र मोबाइल डेटाको समेत राम्रो पहुँच नभएको गाँउका विद्यार्थीहरुका लागि अनलाइन कक्षाभन्दा फाेन कलमार्फत सञ्चालन गरिएको कक्षा नै प्रभावकारी हुने देखिएपछि अभिभावक र गाउँपालिकाको संयुक्त सहकार्यमा यस्ताे कक्षा सुरु गरिएको उनले बताए ।
अघिल्लो शैक्षिक सत्रको वार्षिक परीक्षाबाट आएको परिणामका आधारमा ५ देखि ८ कक्षासम्मका विद्यार्थीका लागि फाेन कल कक्षा लक्षित गरिएको प्रधानाध्यापक पौडेलले बताए ।
‘गाउँपालिकाको सहयोगमा विद्यार्थीहरुको परिवारको आर्थिक अवस्था र मोबाइल फोनको उपलब्धताबारे अध्ययन-अनुसन्धान गर्यौं,’ पौडेलले भने, ‘अनुसन्धानको क्रममा कतिपय विद्यार्थीको घरमा सामान्य मोबाइल फोनसमेत नभएको पाइयो । विद्यार्थीहरु पठनपाठनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले त्यस्ता विद्यार्थीलाई मोबाइल सेट र सिम उपलब्ध गराएका छौं ।’
हाल कक्षा ५, ६, ७ र ८ का विद्यार्थीहरूलाई मात्र फोन कल कक्षामा संलग्न गराइएको छ । माण्डवी माविमा कक्षा ५ देखि ८ सम्म लगभग ३७० विद्यार्थी अध्ययनरत छन् ।
विद्यार्थीलाई बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म १०/१० जनाको समूह बनाई पठनपाठन सञ्चालन गरिरहेको उनले बताए ।
‘अनलाइन कक्षा गर्दा केटाकेटीलाई स्मार्टफोन र इन्टरनेटको आवश्यकता पर्ने र कक्षाको बहानामा अन्य गतिविधिमा समय खर्चिने सम्भावना देखियो । पठनपाठनमा ध्यान केन्द्रित गराउनका लागि नै यही वैकल्पिक उपाय अपनाइएको हो,’ उनले थपे ।
विद्यार्थी संख्याका आधारमा माण्डवी गाउँपालिकाले २७३ साधारण मोबाइल सेट उपलब्ध गराएको छ ।
‘बाँकी मोबाइल फोन विद्यालयले नै व्यवस्था गरेको हो । साथै गाउँपालिकाले एक महिनाको लागि भ्वाइस प्याक पनि उपलब्ध गराएको छ । कार्यक्रमलाई पारदर्शी बनाउन भनेर विद्यालयको तर्फबाट आउने खर्च ईसेवाबाट भुक्तानी गर्ने गरेका छौं,’ उनले भने ।
‘टुकटुके (फिचर फोन) फोनबाट पनि अध्ययन-अध्यापन गर्न सकिन्छ भनेको कतै सामाजिक सञ्जालमा पढेको थिएँ । ४५ दिनको तालिम लिएर कक्षा सञ्चालन गर्न सकिने कुरा पनि उक्त पोष्टमा थियो । त्यसपछि विद्यालय व्यवस्थापन समितिको बैठकमा उक्त प्रस्ताव राख्दा सुरुमा त सबैले अस्वभाविक रुपमा नै लिए । पछि डेमो देखाएपछि सबैलाई बुझाउन सजिलो भएको हो ।’
सुरुवाती दिनको कठिनाइ सम्झँदै उनले भने ‘बुद्धिजिवीहरुले समेत यो नचाहिने कुरा हो, कतै टुकटुके फोनबाट पनि कक्षा सञ्चालन गर्न सम्भव छ र भनेका थिए । तर कक्षा सञ्चालनको तयारी गर्न ४५ दिन नै चाहिँ लागेन ।’
एउटा कोठामा १० वटा मोबाइल फोन राखिएको हुन्छ । शिक्षकहरु आउँछन् र भ्वाइस-प्याक खरिद गरेर पढाउन सुरु गर्छन । एउटा कक्षा ३० मिनेटको हुन्छ, जसमा एक दिनमा एकजना शिक्षकले चार वटा विषयको कक्षाका दरले ८० वटा मोबाइलबाट विद्यार्थीहरूलाई पढाउँछन् ।
१५ रुपैँयाको अनलिमिटेड भ्वाइस प्याक लिँदा प्रतिसमूह रु.१५० का दरले प्रतिदिन खर्च हुने गरेको पौडेलले बताए ।
हप्तामा ६ दिनसम्म यसैगरी पठनपाठन सञ्चालन गरिन्छ । सामान्य अवस्थाको पढाइले जस्तो प्रभाव पार्न नसकेपनि कक्षा हुँदै नहुनुको तुलनामा भने राम्रो अभ्यास भएको उनको भनाइ छ ।
सैद्धान्तिक विषयलाई त फोन कल कक्षा प्रभावकारी हुन्छ भनि पत्याउन मुस्किल छैन । तर गणितीय विषयलाई कसरी समेट्नुहुन्छ? भन्ने प्रश्नमा पौडेल भन्छन्, ‘सहजै छ, त्यति गाह्रो हुँदैन, जति सोचिएको हुन्छ । विद्यार्थीको लेखन स्पीड अनुसार निरन्तर उनीहरुको क्रियाकलापमाथि निरन्तर निगरानी राखेर राम्रोसँग कक्षा अगाडि बढाउन सकिन्छ ।’
फोन कल कक्षामा अरुबेला जस्तो पाठ्यक्रममा तोकिएको विषय सूचीलाई क्रमबद्द रुपमा अगाडि बढाउँदा भने समस्या हुनसक्ने पौडेलको अनुभव छ ।
उनी भन्छन् – ‘विद्यार्थीको सहजता र बुझ्ने क्षमतालाई ध्यानमा राखी कक्षा सञ्चालन गर्नुपर्छ ।’
एउटै घरको एकभन्दा बढी विद्यार्थी भएको र उनीहरूको कक्षा जुधेको अवस्थामा भने विद्यार्थीका लागि छुट्टै समूह बनाएर कक्षा सञ्चालन हुने उनले बताए ।
सभार:- टेकपाना

0 Comments